संक्षिप्त परिचय

नेपालको पाँच विकास क्षेत्रमध्ये पुर्वा़ञ्चल विकास क्षेत्रको कोशी अञ्चलमा पर्ने यो मध्यपहाडी भेगको एक दुर्गम जिल्ला हो। पुर्वमा संखुवासभा र धनकुटा जिल्ला, पश्चिममा खोटाङ, उत्तरमा सोलुखुम्बु र दक्षिणमा उदयपुर जिल्लाले घेरेको यस जिल्लको कुल क्षेत्रफल १५२२ बर्ग कि.मि रहेको छ। यस जिल्लाले नेपालको कुल क्षेत्रफलको १.०२ प्रतिशत, पुर्वाञ्चल विकास क्षेत्रको ५.३० प्रतिशत र कोशी अञ्चलको १५.५९ प्रतिशत भु-भाग ओगटेको छ।
समुद्र सतहको १५३ मि. देखि ४१५३ मि. को उचाईमा रहेको यो जिल्ला २६˚५३’उत्तरदेखि २७˚२७’ उत्तरी आक्षांश र ८६˚५३’ पुर्वदेखि ८७˚१७’ पुर्वी देशान्तरसम्म फैलिएको छ। उत्तर-दक्षिण सरदर लम्बाई ६२ कि.मि र पुर्व-पश्चिम सरदर चौडाइ ३५ कि.मि रही उत्तर दक्षिण फैलिएको यस जिल्लाको मध्य भाग केही फराकिलो छ।

यस जिल्लाको पुरानो नाम सिद्धपुर थियो। पृथ्वीनारायण शाहले माझ किराँत विजय गर्दै आउँदा यस ठाउँलाई जितेपछि जितेको खुसीयालीमा ठुलो भोज खाएको र बाँकी रहेको भोज यही ठाउँमा पुरेर गएको हुनाले यसको नाम सिद्धपुरबाट “भोजपुर” रहन हो भन्ने किंवदन्ती छ र अर्को भनाइ अनुसार पहिले यस जिल्लाको उच्च पहाडी क्षेत्रको जंगलमा भोजपत्रहरुको रुखहरु प्रशस्त हुनाले यसको नाम भोजपुर रहन गएको भन्ने पनि लोकोक्ति रहेको पाइन्छ।

यस जिल्लाको समाजिक जनजिवनभित्र सरलता, सजगता र जनमुक्तता बढि पाइन्छ। दुई हजार बर्ष पहिलेदेखि नै यस ठाउँमा बिभिन्न किराँत जातिहरुको बसोबास हुँदै आएकोले अहिले पनि किराँत जातिको(३७.४५%) बहुल्यता रहेको छ। यो जाति बाहेक यहाँ क्षेत्री(२०.३९%), तामाङ(८.६७%), नेवार(७.६६%), ब्राम्हण(५.७३%), मगर, गुरुङ, दमाई, कामी र सार्की आदिको बसोबास रहदै आएको छ।

यहाँका रमणीय स्थलहरुमा ट्याम्के, सेल्मे, सुन्तले, दिङ्ला, मैयुङ डाँडा, सिलिचुङ, हतुवागढी, साल्पा पोखरी, हाँसपोखरी, घोडेटार आदि हुन्।


Skip to toolbar